चाडपर्वको ऋण तिर्न बालुवामा सुन खोज्न हिँडे बोट
तनहुँ | कात्तिक १४, २०७९
तस्बिर फाइल
तनहुँ : व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् ।
नेपालीहरूको महान् पर्व दशैँ र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशैँ र तिहार मनाउँदा करिब रु ३० हजार ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटे दशैँ र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर मनाउने गरेको उहाँले बताउनुभयो ।
साहुको ऋण तिर्नका लागि नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर तिर्ने गरिएको छ । उहाँले भन्नुभयो, “दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन रहिआएको छ ।”
क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन हुने भएकाले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू दुःखेसो पोख्छन् ।
सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुख्र्यौली पेसा भएकाले यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडाकँुडाका गुन्टाहरू कसेर नदी किनारमा नै पाल टाँगेर बसेर सुन खोज्ने कार्यमा लाग्ने अस्मिता बोटेले जानकारी दिनुभयो ।
काम गर्न नसक्ने बूढाबूढी र केटाकेटीलाई घरमा छाडेर जाने गर्दछन् । अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्ने गर्दछन् ।
बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न नदी किनार धाउने गर्दछन् । तनहुँका मादी, सेती नदीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण खोज्न किनारामा जाने गरेको अस्मिता बोटेले बताउनुभयो ।
नदी किनारमा जाँदा सुन चाल्न प्रयोग गरिने डुड, पार्टी, चनौटोलगायतका सामान लिएर सुन खोज्न जाने गर्दछन् । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन् । पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिनुभयो ।
बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन् । नदीकै किनारमा बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उहाँले बताउनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

